लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुने खाँडकाे दावी

काठमाडाैं, २७ कात्तिक– नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्धय डा. बाबुराम भट्टराई र पशुपतिशमशेर राणा विजयी हुने दावी गरेको छ । नेपाली काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिले लोकतान्त्रिक गठबन्धनबाट उम्मदवार बन्नु् भएका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी हुने दावी गरेको हो ।

काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट भट्टराई प्रतिनिधि सभा सदस्यका लागि गोर्खा क्षेत्र नम्बर १ बाट र राणा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएको छ । दुवै उम्मेदवार विजयी हुने काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दावी गर्नु भयो ।

उहाँले सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आगामी मंसीर १० गते पहिलो चरणमा हुने निर्वाचन प्रचार अभियानमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिएको पनि स्पष्ट पार्नु भयो ।

नेपाली काँग्रेसले मतदान बदर हुन नदिन सचेत रहन पनि आम मतदातालाई आह्वान गरेको छ । संयोजक खाँडले लोकतन्त्रलाई बलियो बनाउन पनि मत पत्र बदर हुन नदिन पार्टीले आम मतदातालाई सचेत रहन आग्रह गरेको स्पष्ट पार्नु भयो ।

नेपाली काँग्रेसले निर्वाचनमा पार्टीको पक्षमा जनमत सृजना गर्न उत्साहका साथ लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई सचेत पनि गराउँदै आएको छ ।

Top