बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए

विनोद सिंह विष्ट ।
बैतडी, २७ कार्तिक – बैतडीमा हालसम्म २ सय ५८ जनाले हातहतियार बुझाएका छन । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले हतियार बुझाउन भनेको थियो ।

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजना ऐन,२०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तीहरुसंग रहेका ईजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो ।  कार्तिक १५ गतेभित्र बुझाउन आग्रह गरेको र कात्तिक १५ गतेसम्म ९८ जनाले मात्र बुझाएको भएपनि हाल उक्त संख्या बढेर २ सय ५८ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

बैतडीमा भरुवा बन्दुक, बाराबोर, बाईसबोर, दुई नाले र एकनाले बन्दुक गरी १ हजार १ सय २९ ईजाजत प्राप्त हतियार रहेको प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले बताउनुभयो ।  साथै हतियार बुझाउन बाँकी रहेका व्यक्तीले छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रसासन कार्यालय बैतडीले आग्रह गरेको छ ।

मतदाता शिक्षा शुरु
चितवनमा मतदाता शिक्षाका स्वयंसेवकहरु परिचालन गरिएको छ । जिल्लामा छनोट भएका ४सय ८ स्वयंसेवकमध्ये १ सय ५० जनालाई प्रशिक्षण दिएर मतदाता शिक्षाका लागि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज झण्डै २ सय जनाको प्रशिक्षण रहेको र उनीहरुलाई पनि आजै परिचालन गरिनेछ । बाँकी अन्यलाई भोली प्रशिक्षणपश्चात खटाइने ढकालले जानकारी दिनुभयो ।  जिल्लामा १ सय ६१ मतदान स्थलमा ४ सय ८ वटा मतदान केन्द्र रहेको छ । हरेक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा स्वयंसेवक रहनेछन् ।

Top