इरान र इराकको सीमामा भूकम्प, मृतकको संख्या १४१ पुग्यो

एजेन्सी, २७ कार्तिक – इरान र इराकको सीमा क्षेत्रमा आएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ । ३ सय भन्दा बढी घाइते भएका छन् । ७ दशमलव ३ रेक्टर स्केलको भूकम्पबाट इरानका १४ राज्य प्रभावित भएको बीबीसीले जनाएको छ ।

अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ३५ जनाको मृत्यु भएको छ । यस्तै इराकमा अन्य ६ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार इरानको कुर्द शहर हल बजा भन्दा ३२ किलोमिटर दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । अन्तरार्राष्ट्रिय समय अनुसार आज बिहान ६ बजेर १८ मिनेट जाँदा ३३ दशमलव ९ किलोमिटर गहिराई भूकम्प गएको थियो ।

इरान र इराकको सीमामा पहाडी क्षेत्र पर्दछ । भूकम्पको कारण सो क्षेत्रमा भूक्षय गएको छ । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ ।

Top