मतदाता शिक्षा स्वयंसेवक गाउँगाउँमा

विनोद सिंह विष्ट
बैतडी,२६ कात्तिक– आगामी निर्वाचनमा बदर मतको संख्या घटाउने र मतदाताहरुलाई मतदान प्रक्रियाको बारेमा सिकाउने उद्देश्य सहित बैतडीमा आजदेखि मतदाता शिक्षा स्वयंसेवकहरु गाउँगाउँमा परिचालन भएका छन् ।

मतदाता शिक्षा सामग्री सहित १८२ मतदाता शिक्षा स्वयंसेवकहरुलाई गाउँगाउँमा खटाइएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख एवं निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ मतदाता शिक्षा स्वयंसेवकहरुले मतदाताहरुलाई जुन ठाउँमा भेट्यो उतै मतदान प्रक्रियाका बारेमा सिकाउनेछन ।”
निर्वाचन आयोगले प्रत्यक्ष प्रदेशसभा र प्रतिनिधिसभाका लागि अलग अलग मतपत्र छाप्ने निर्णय गरेपछि मतदाता शिक्षा कार्यक्रम ढिलो शुरु भएको हो । अधिकतम मतदाताहरुलाई मतदानको प्रक्रियाका बारेमा सिकाउने लक्ष्य सहित मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको निर्वाचन अधिकारी फुयाँलले जानकारी दिनुभयो ।

मतदानको मिति नजिक आइसक्दा समेत मतदाता शिक्षा कार्यक्रम ढिलो सञ्चालन भएकाले सबै ठाउँमा स्वयंसेवक पुग्दैनन् कि भन्ने स्थानीयहरुलाई चिन्ता हुन थालेको छ । यसअघिका निर्वाचनमा मतदाता शिक्षा स्वयंसेवकहरु गाउँघरमा कमै पुगेको मतदाताहरुले गुनासो गरिरहेका बेला यो चुनावमा भने ढिलो गरि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदा झन् समस्या हुने देखिएको छ ।

तर मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि प्रत्येक गाउँपालिकाका कार्यकारी अधिकृत, वडा अध्यक्ष लगायतलाई अनुगमनका लागि आग्रह गरिएकाले मतदाता शिक्षा प्रभावकारी हुने निर्वाचन कार्यालयको विश्वास छ ।

प्रतिनिधि सभाको लागी १ र प्रदेश सभा सदस्यका लागी २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३१९ मतदाता रहेका छन । भने १२० मतदानस्थल तथा १८२ मतदानकेन्द्र रहेका छन । बैतडीमा पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुदैछ ।

Top