भारतविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित

काठमाडाैं, २६ कात्तिक–उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए । यस्तै जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रन बनाए ।

जवाफी व्याटिंगमा आएको भारतका मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गर्दै ४ विकेट लिनुका साथै ८८ रन बनाए । पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १। १ विकेट लिए ।

जितसँगै नेपालले अर्को चरण प्रबेशको संभावना पनि बलियो बनाएको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । हिजो भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल आउँदो पर्सि मलेसियासँग खेल्नेछ ।

Top