दिल्लीमा तुवाँलोले जनजीवन प्रभावितः तुवाँलो हटाउन पहल शुरु

एजेन्सी, २४ कात्तिक–वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल शुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या आज पनि हटेको छैन ।

विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखिएको छ ।
वायु प्रदुषणको अवस्था सुधारका लागि विशेष पहल गर्न नागरिकले सरकारलाई विशेष आग्रह गरेका छन् । सोही बमोजिम सरकारले यही सोमबारदेखि जोर बिजोर नम्बरका मात्र सवारी चलाउन पाउने नियम बनाएको छ ।

यसले वायु प्रदुषणको मात्रामा केही कमी ल्याउने अनुमान पनि गरिएको छ । बुधबारदेखि बन्द गरिएका नयाँ दिल्लीका सबै प्राथमिक विद्यालयहरु प्रदुषणको अवस्था सुधार नहुदासम्म नखोल्न भनिएको छ । त्यस्तै दिल्ली र दिल्लीसँग जोडिएका राज्यका मुख्यमन्त्रीहरुको बैठक बोलाई समस्या समाधानका लागि पहल थाल्न सरकारले आग्रह पनि गरेको छ ।

दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेशनलाई पाँच सय बस भाडामा लिएर जोर विजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा नागरिकलाई सुविधा दिन पनि आग्रह गरेको छ ।

Top