कञ्चनपुरमा हात्तीको अातंकः दुई घरमा क्षति

कञ्चनपुर, १९ कात्तिक–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ । हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो ।

घरभित्र सुतेका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । दीपककी श्रीमतीले हात्तीले घर भत्काउन थालेपछि दुधेबालकसहित खातमुनि लुकेर ज्यान जोगाएको बताउनुभयो ।

हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाउन थालेपछि घरभित्रबाट निस्केर सुरक्षित स्थान पुगेको उहाँले बताउनुभयो । घर भत्काएर अन्नबाली नोक्सान गरेपछि दुवै परिवारको विचल्ली भएको छ ।

Top