जोखिम स्थानमा विद्यालय बनाउन रोकियो

काठमाडौं, २९ असोज – जोखिम स्थानमा जग्गा भएकाले सयौँ सामुदायिक विद्यालयले नयाँ भवन नपाउने भएका छन् । भूकम्प प्रभावित जिल्लाका थुप्रै विद्यालयसँग उपयुक्त जग्गा छैन ।

जोखिमयुक्त जग्गाका कारण त्यहाँ भवन निर्माण हुन नसक्ने भएकाले पुनःनिर्माणका लागि विनियोजित रकम खर्च नहुने प्रस्ट भएको छ ।  विगतमा स्थानीय दाताहरूले निकै भिरालो, पहिरो जाने सम्भावना भएका, पहिरोको मुखमा, नदी किनारलगायतका जोखिमयुक्त स्थानका जग्गा विद्यालयलाई दानमा दिएका थिए ।

ती स्थानमा विद्यालय भवन निर्माण भए र सञ्चालन भइरहे तर २०७२ सालको भूकम्पमा ती भवन क्षतिग्रस्त हुन पुगे । अब सोही स्थानमा नयाँ भवन निर्माण गर्न अनुमति नदिइएपछि ती विद्यालयले नयाँ भवन प्राप्तिका लागि सुरक्षित स्थानका जग्गाको खोजी गर्नुपर्ने भएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक इमनारायण श्रेष्ठले रसुवामा २८ वटा विद्यालयलाई भवन निर्माणका लागि रकम उपलब्ध गराइएकोमा १९ वटासँग मात्र सम्झौता गरिएको जानकारी दिँदै भन्नुभयो, “विद्यालयसँग उपयुक्त जग्गा छैन । जस्तोसुकै स्थानमा भवन निर्माणका लागि अनुमति दिन सकिन्न । ”

उहाँका अनुसार भूकम्पमा परी सात हजार ९२३ विद्यालय भवन क्षतिग्रस्त भएका थिए र तीमध्ये करिब १५ प्रतिशत भवन त्यस्ता जोखिम स्थानमा छन् ।  बढीजसो कक्षा १–३, १–५ र १–८ तथा केही १–१० सञ्चालन भएका विद्यालयमा यस्तो समस्या देखिएको छ । आजको गोरखापत्रमा खबर छ ।

Top