राष्ट्रिय चलचित्र अवार्ड दशैँ अगाडि

काठमाडौँ, २६ भदौ । नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते वितरण गर्ने ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएकोले समयमा निर्णय हुन सकेको थिएन ।

प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक, नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिन्छ ।

पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारका राशि एक लाख रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा बोर्डले यस किसिमको कार्यक्रम गर्दै आएको हो ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उक्त कार्यक्रम दशैँ अगाडि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Top