‘सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ, संसद पनि छोड्छौं’

काठमाडौं, २५ साउन – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता देवेन्द्र यादवले आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनु भएको छ । नेपालवाणी नेटवर्कको वाणी बहसमा आज कुराकानी गर्दै नेता यादवले एक हप्तासम्म माग पूरा नभए समर्थन फिर्ता लिने बताउनु भएको हो ।

माग पूरा गराउन सरकार उदासिन रहेको उहाँको आरोप छ । माग पूरा नगर्ने सरकारको समर्थन नगरिहुको कुनै अर्थ नभएको भन्दै नेता यादवले सरकारको यस्तै रवैया रहे संसदसमेत छोड्ने चेतावनी दिनुभयो । नेता यादवले संसदमा टेवल भएको संविधान संशोधन विधेयकलाई भोटिङमा लैजान आग्रह गर्नु भएको छ ।

राजपा संशोधन विधेयक पास–फेल जे भएपनि स्वीकार्न तयार रहेको भन्दै नेता यादवले संशोधनलाई भोटिङमा लिन आग्रह गर्नुभयो । उहाँले संशोधन पास नभइ चुनावमा जानु भनेको संविधानलाई स्वीकार सरह भएको बताउदै राजपा आफ्नो अडानबाट पछि नहट्नेसमेत दावी गर्नुभयो ।

यस अघि राजपाको केन्द्रीय कार्यसमिति बैठकले एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । चुनावमा जानेरनजाने भन्ने विषयमा पार्टी पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिमा व्यापक छलफल भएको थियो ।

Top