पुनर्निर्माणको कामले गति लिन नसक्नुमा मन्त्रालयहरु जिम्मेवारः पुनर्निर्माण प्राधिकरण

काठमाण्डाैं, १९ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द्रप्रसाद पोखरेलले भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसक्नुमा मन्त्रालयहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले पुनर्निर्माणको कामलाई गति दिनेगरी प्राधिकरणले आवश्यक समन्वय र सहजीकरणको काम गरिरहेको दावी समेत गर्नु भयो ।

विहिबार व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा बोल्दै उहाँले मन्त्रालयहरुलाई आ–आफ्ना क्षेत्र भित्रको पुनर्निर्माणको कामको जिम्मेवारी दिइएको पनि स्मरण गराउनुभयो ।

भूकम्पपछिको पुनर्निर्माणको कामले गति नलिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चर्को आलोचना भईरहेको छ । तर प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने काममा ढिलाई हुनुमा आफूहरु नभई सम्बन्धित मन्त्रालयहरुनै जिम्मेवार रहेको प्रष्टिकरण दिनु भयो ।

उहाँले प्राधिकरणले सबै निकायसँग समन्वय गरेर आवश्यक बजेट, पुनर्निर्माणको मापदण्ड, खरिदका लागि आवश्वक ऐनको व्यवस्था गरिदिएको पनि उल्लेख गर्नु भयो ।

प्राधिकरणले निजी आवास पुनर्निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालय, अनुदान दिने व्यवस्था स्थानीय विकास मन्त्रालय, शिक्षण संस्थाहरुको पुनर्निर्माणको कामको जिम्मेवारी शिक्षा मन्त्रालय, स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिएको दावी गर्दै आएको छ ।

सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्दा काममा केही ढिलाई हुनुलाई अन्यथा लिन नमिल्ने पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलको बुझाई छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ४६ हजार ५ सय ४४ वटा निजी आवास निर्माणको काम सम्पन्न भएको पनि जनाएको छ । त्यसै गरी १ लाख १५ हजार ८४ वटा निजी आवास निर्माणको चरणमा रहेको पनि उल्लेख गरिएको छ ।

Top