सिंहदरबारको मुख्य भवन सबलीकरणको काम अझै सुरु हुन सकेन

भूकम्पले क्षति पुर्याएको मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मुख्य भवन सबलीकरणको काम अझै सुरु हुन सकेकाे छैन ।

वर्षात् सुरु हुन लागेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त भवनलाई प्लाष्टिकले ढाक्ने काम भने मंगलबारदेखि सुरु गरेको छ ।

भूकम्पले क्षतिग्रस्त भवनमा थप क्षति हुनबाट जोगाउन प्लाष्टिकले ढाक्ने काम सुरु गरिएको प्राधिकरणका सहसचिव प्रकाश थापाले बताउनु भयो ।

वर्षात् सुरु भईसक्दा मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडालाई प्लाष्टिकले ढाक्ने काम सुरु गरेको हो ।

झण्डै ३४ हजार स्क्वायर फिट क्षेत्रफल भएको सिंहरदरबारको क्षतिग्रस्त भवन भित्र पानी छिर्न नदिन ठेकेदारमार्फत प्लाष्टिकले ढाक्ने काम सुरु गरिएको छ ।

प्राधिकरणले साँढे ५ लाख रुपैयाँमा सिंहदरबारको मुख्य भवनमा प्लाष्टिकले ढाक्न ठेक्का दिएको हो ।
प्राधिकरणले भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको सवलीकरणको काम सुरु गर्ने भनिएपनि अझै त्यसको विस्तृत अध्ययण प्रतिवेदन समेत तयार पार्न सकेको छैन । क्षतिग्रस्त भवनमा प्लाष्टिकले ढाक्ने काम भने दुई हप्ता भित्र सक्ने दावी गरिएको छ । सिंहदरबारको मुख्य भवनको संरचना नबिग्रने गरी पुनर्निर्माण गर्ने योजना बनाएपनि त्यसको कार्यान्वयनको काम भने अझै सुरु हुन सकेको छैन ।

Top