म मेयर भएभने, काठमाडौ शहर मल्लकालिन अवस्थामा फर्काउँछुः किशोर थापा

काठमाण्डौ ।  पूर्व प्रशासक किशोर थापाले काठमाडौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । तीस बर्ष सम्म सरकारी सेवाको उच्च पदमा विताएका थापा अहिले पत्रकार रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीमा आवद्ध छन् । हालै गठन भएको साझा पार्टीले स्थानीय चुनावमा दलिय हैसियतमा चुनाव लड्न नपाएपनि थापाले स्वतन्त्र उम्मेदवारका हैसियतले निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसै सन्दर्भमा पत्रकार राजेन्द्र बानियाँले नेपालवाणी नेटवर्कको बाणी बहसमा गरेको कुराकानीको सम्पादित अंश ।

तपाईलाई पनि राजनीतिमा प्रवेश गरेपछि उधारो सपना बाँड्ने रोगले छोएको हो ?

म सपना बाँड्ने पक्षमा छँदै छैन । काम गरेर देखाउने हो, सपना बाँड्ने होइन ।

यसअघि तपाई ३० बर्ष सम्म सरकारी सेवामा रहनु भयो त्यतिबेला के गर्नुभयो भनेर जनताले सोधे भने ?

मैले मेरो सेवा कालिन जीवनमा गरेका कामको लामो फेहरिस्त छ । ३० बर्षको अवधिमा मैले गरेका कामहरु देशका कुन कुन भागमा के के काम गरे भन्ने ‘लिस्ट’ छ त्यसको फोटो खिच्न सक्छौँ, मेरो कार्यकालमा बनेका पूर्वाधारहरु अहिले पनि जनताहरुले उपभोग गर्न सक्छन् । त्यसैले म यो प्रश्नसँग चिन्तित छैन । सवैकुरा प्रष्टनै छन् ।

तपाईले यसअघि गरेका कामको त समिक्षा होला नी ?

पक्कैपनि यसमा अरु राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले पनि गर्नुहोला । आम जनता र विशेषगरी काठमाडौ महानगरपालिकामा विगतमा गरेका कामको मूल्यांकन गर्नुहुने छ ।

त्यसो भए काठमाडौको मेयर बनि छाड्ने ?

हो म मेयर बन्नकैलागि दृढ संकल्प लिएर अगाडी बढेको छु ।

पुराना नेताहरुले भनेजस्तै काठमाडौलाई स्वीट्जरल्याण्ड या सिंगापुर बनाइदिने ?

स्वीट्जरल्याण्ड पनि बनाउने होइन, सिंगापुर पनि बनाउने होइन, मल्ल कालमा काठमाडौ जस्तो थियो त्यो अवस्थामा पुरानो सहरलाई फर्काउने हो र नयाँ सहरलाई व्यवस्थीत र आधुनिक बनाउने हो ।

त्यसकालागि वैशाख ३१ को चुनावमा जनताले मत दिएर जिताउनु पर्छ होला ?

जनताले मत दिएर जिताउनु पर्यो, किन भने काठमाडौको मौलिक स्वरुप कायम गर्नकालागि र हामी काठमाडौवासी हौँ भन्ने गर्व गराउनकालागि मेरो नेतृत्व आवश्यक छ, त्यसकालागि वैशाख ३१ गतेको निर्वाचनमा अत्याधिक मत दिएर विजयी बनाउन अनुरोध गर्दछु ।


त्यसकालागि किशोर थापानै किन ?

मैले यस क्षेत्रमा लामो अध्ययन पनि गरेको छु, काम पनि गरेको छु, यहाँका धेरै समस्याहरुसँग जुधेको पनि छु । यहाँ के काम गर्न सकिन्छ र के गर्न सकिदैँन भन्ने राम्रोसँग थाहाँ छ । जुन कुरा तत्कालै गर्न सकिदैँन त्यो गर्छु भनेर दावी पनि गर्दिन । यर्थातपरक कुरा गर्दा काठमाडौ महानगरपालिकाको कुरा गर्दा अन्य उम्मेदवार भन्दा सक्षम छु भन्ने मेरो दावी हो ।

ठूला दलमा गएर चुनाव लडेको भए हुन्थ्यो ?

म पनि विगतमा ठूला दलमा पुगेको भए अलि ठूलो हैसियत पनि हुन्थ्यो होला, मलाई त्यसको आवश्यकता परेन । मैले राष्ट्रसेवा गर्दा पाउनुपर्ने पद प्रतिष्ठा सबै कुरा पाए ।

Top