हिजोको त्यो तीज अनि आजको यो तीज जमानासँगै तीजको रौनक हरायो

युव मगर  

         यतिबेला नारीहरुको पर्व तीजले समाजका हरेक वर्ग र उमेरका महिलालाई छोएको छ । आजभोलि बदलिदो समय परिवर्तन सँगै तीज मनाउने शैली र यसको रौनक पनि बदलिंदै गएको छ । महिलाहरु तीजको मर्मभन्दा रमाइलो गरेर खुशी मनाउन थालेका छन् भने पुरुषहरुको पनि सहभागिता बढ्दो छ ।
पहिले पहिले माइतमा गएर दिदी बहिनी भेट हुने दुःख सुख साट्ने, भाद्रशुक्ल द्धितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार वर्त बसी विवाहिताहरु श्रीमानको सु–स्वास्थ्य दिर्घायुको कामना गर्ने र अविवाहितहरु शुयोग्य वर पाउने आशा र विश्वासमा तीजको वर्त बस्ने गर्थे । तीजको दिन पानी समेत खान नहुने पानी खाँदा श्रीमानको रगत खाए सरह हुन्छ भन्ने मान्यता थियो उहिले तीज भाद्रशुक्ल द्धितीयामा दर खाने तृतीयामा वर्त बस्ने धुमधाम नाचगान र भगवान शिवको पूजा आरधना गर्ने शिवलिङ्गमा जल चढाउने मनोआकांक्षा पूरा होस् भनि कामना गर्ने गरिन्थ्यो र पञ्चमी गरेपछि त्यसैदिनबाट तीज सकिन्थ्यो तर आजभोलि आधुनिकताको नाममा पुरानो परम्परा परिवर्तन भएको छ । तामझाम बढ्दो छ मर्म बिस्तारै मर्दै गएको छ ।
हिजोआज दिदीबहिनी दिदी बहिनी आपसमा जम्मा हुने र रमाइलो गर्ने चलन बढेपछि तीजको खास मर्म मै परिवर्तन आउँदै गएको छ । सहरिया चेलीहरु र कलाकारहरु एक महिना अगावैबाट दर खाने कार्यक्रमको आयोजना गर्ने र सरिक हुनेमा निकै व्यस्तछन् । पहिलेका जमानामा लामो समय सम्म भेटघाट नभएका चेलिबेटी तीजको अवसरमा भेट हुने र विभिन्न परिकार बनाएर आपसमा दुःख सुख साट्ने वर्त बस्नु अघिल्लो साँझ मिठो मिठो खाने चलन रहेको थियो माईतिमा रमाइलो हुन्थ्यो । तर अचेल निकै तामझामका साथ होटल र पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रमको आयोजना गर्न थालिएको छ । “यस किसिमको कार्यक्रमको आयोजना गर्दा सधै आ–आफ्नै पेसा व्यवसायमा व्यस्त भइन्छ लामो समय देखभेट हुँदैन कार्यव्यवस्ताले पहिले जस्तो माइत जाने गाउँघर जाने रमाइलो गर्ने फुर्सद पनि हुदैन सहरमा रहेका दिदीबहिनी सबैसँग एकैछिन भए पनि रमाइलो हुन्छ त्यसैले यस्ता कार्यक्रमको आयोजना गर्नु ठिक हो तर विकृतिको रुपमा बढ्न भने दिनुहुदैन ।” भन्छन् तीजको दर खाने कार्यक्रममा सहभागि महिलाहरु ।

तीजमा बिशेष महत्व हुन्छ बर्त र गीतको तर आजभोलि चेलीका बेदना पोखिन्न  तीज गीतमा त तन्नेरी र तरुनीका चाहना समेटिन्छ । पहिले सञ्चारको सुविधा थिएन शिक्षा, चेतना र स्वतन्त्रताको अभाव थियो । छोरी चेली बुहारीले परिवारमा भोगेका कष्टहरुलाई तीजमा माइतीमा आएर मनभरिका बेदना र बह पोख्थे । पराइघर सासु ससुरा, नन्द देवर, जेठान जेठानीले गरेका विभेदका भावना हेला गरेका कुरा संगीनी बीचमा माइती घरका आगनी र चौतारामा धक फुकाएर गाउँथे र मन बुझाउँथे चेलीहरु । अहिले त्यो चलन बढ्दो स्वतन्त्रता सँगै हराउँदै गएको छ । अचेल वरिलैका भाका हराए बेदनाका भाव पनि क्रमशः हराएर गए । परिवारमा छोराछोरीमा भएको विभेदलाई गीतमा पोखिन्थ्यो ।
म भन्दा सानो भाईलाई कापी कलम किन्दिनी म एउटी छोरीलाई डोको बुन्दिनी
त्यस्तै नन्द भाउजु बिचको तितोपिरो मनमुटाव समेट्ने गीत पनि थिए ।
शिरै लाउने शिरफूल कपालैमा बेरुला नन्द तिमीले घर गरेको राम हेरुला
भदौरे झरी टाढाको माइती माइत जान नपाउनुका बेदना चेलीहरु गीतमा बहकिन्थे रनवन घन्काउँथे सबै चेली माइत जाँदा आफू जान नपाउनुको पिडा दिदी बहिनी
सातै नदी पारी दिनुभयो बाबा हामीलाई लिन को आउला वर्ष दिनको तिज आयो सबै गए माइत मत चेली अभागिनी घर वरिलै
जेठानी देउरानी सासू फूपू नन्द बीचका बचन तिक्तता अनि परिवारमा भोग्नु परेका दुःख गीत मार्फत पोखिन्थे । घटना विशेष भूगोल विशेष गीत पनि हुन्थे
अर्गलीको तेर्सो बाटो हिड्दा हिड्दै फेरो वरिलै टोपी खस्यो मेरो वरिलै
आफ्नै मौलिकता र साधारण जनजीवनका गीत थिए
हाम्री आमाले सुकाएको विसुन भँगेरी चरीले आगनीमा लरिलर र ………

पहिलेका गीतमा महिलाहरूले अाफ्ना बेदना पिर ब्यथाहरू एकाेहाेराे रूपमा ब्यक्त गर्ने गर्दथे तर अाजकल त्यस्ताे छैन । आजभोलि भने अधिकांश गीत जोवनसँग जोडिएका गीतले बजारमा वर्चश्व जमाएका छन् । समय क्रमसँगै कहिले वेदनाका कुरा कहिले महिला मुक्तिका कुरा क्रान्तिका कुरा समेटिए राजनीति संविधान र नयाँ नेपालका विषय पनि तीज गीतमा समेटिए । महिलामात्रै सहभागि हुने तीजमा पुरूषहरू पनि नाच्न गाउन थाले त्यती मात्र हाेइन सहरमा पुरूषहरू नै दर खाने कार्यक्रममा सहभागी हुने र अायाे जना नै गर्ने गरेका छन् ।
एक ताकाका चर्चित कलाकारहरु हरिदेबी कोइराला, बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्ग लगाएतका कलाकारले गाउने ती गीत अत्यन्तै सभ्य र मौलिक हुने गर्थे । पछि पुरुशोत्तम न्यौपाने, प्रजापति पराजुली लगाएतका कलाकारहरुले पनि झण्डै दशक भरी नै धारावाहिक रुपमा नै तीज गीत निकाल्ने एउटा चल्तीकाे थालनी गरेर योगदान दिए । कोमल ओली पनि तीज गीतमा आधुनिकता दिने काममा महत्वपूर्ण भूमिका खेलिन् । पछिल्लो समय बिस्तारै समाजका अन्य विषय पनि समेटिएको छ तीज गीतमा यसपाली पनि विभिन्न खालका गीत आएका छन् ।
यसवर्ष पनि हरी विष्टको माइतीको देश, शिलु भट्टराई र कृष्णबाबुको भँगेरी चरीले, जमुना सनमको रेलैमा फरर के हो ? सम्झना भण्डारीको बत्ती बाल्नै पर्दैन, पोखरामा सुटिङ्ग भएको प्रसाद खप्तरी मगरको लजाउने मायाँ लगाएतका गीतहरुले राम्रो बजार लिएका छन् यी गीतहरु नै यस वर्षका राम्रा कोटीका गीतको रुपमा राम्रै बजार तताएका छन् । यस सँगै यसपाली पनि केही बिबादित गीतहरु पनि बजारमा आएका छन् जस्तो तिलक वलीको केरा काटेर, भावना म्यूजिकले बजारमा ल्याएको चाइनिज लुगा लगाएतका गीत भने यो वर्ष अत्यन्तै आलोचित भएका गीत हुन् । यसपाली पनि धेरै तीज गीतहरु तीजको मौलिकता भन्दा बाहिर गएर गाइएका गीतहरु आएका छन् जसले चर्चासँगै आलोचना पनि खेपेका छन् । अधिकांश गीत पारिवारिक छैनन् भन्दा पनि फरक पर्दैन । साँच्चै भन्ने हाे भने त धेरै गीत रत्याैली जस्ता नै छन् ।
बदलिदो समयसँगै बदलिएका तीज गीतका पनि आफ्नै भाव र महत्व छन् यद्यपी पुराना संस्कार मौलिकता तथा साँस्कृतिक महत्वलाई पनि जगेर्ना गर्न र प्रवद्र्धन गर्न सम्बन्धित सबैले चासो दिनु जरुरी छ । बेलैमा सजग नभए तीजको मौलिकता क्रमश हराएर जानेछ । अाधुनिकताकाे नाममा माैलाएकाे यस किसिमकाे बिकृती हटाउन तपार्इँ हामी पनि सचेत हुनु जरूरी छ । जे भइरहेकाे छ ठीकै छ भनेर बस्दा तीजकाे माैलिकता नै हराएर जाने खतरा बढेकाे छ ।

Happy Teej

Top