नेविसंघलाई अघि बढाउने ११ सर्त

प्रेम जोशी – 

आइतबारबाट सुरु नेपाल विद्यार्थी संघको ११ औं महाअधिवेसनको अर्थ एउटा प्रजातान्त्रिक संगठनको आवद्यिक निर्वाचनभन्दा धेरै बढी छ । झण्डै एक दशकपछि निर्वाचनमा जान लागेको नेविसंघ दुई चिरामा विभाजित कांग्रेस एकतापछिको पहिलो निर्वाचन पनि हो । देशको ऐतिहासिक समयमा लामो समय तदर्थवादमा सीमित रहेको संगठनले सशक्त भूमिका देखाउने समय भने अझै बाँकी छ । संविधानको सर्वस्वीकार्यता, संघीयता कार्यान्वयन र शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन नेविसंघ पुर्नताजगीसाथ आउनुपर्छ । ११औं महाधिवेसनसम्म आइपुग्दा संगठनले नयाँ दिशा लिने ११ सर्तहरु यस्ता छन् ।

चुनावी नेतृत्व र विधान कार्यान्वयन
प्रजातान्त्रिक संस्कार कांग्रेसले आफ्नो शिशू मानिने नेविसंघबाटै विकास गर्नु आवश्यक छ । त्यो भनेको चुनावी नेतृत्वको विकास, पुस्ता हस्तान्तरण र विधानलाई केन्द्रमा राखेर गरिने राजनीति हो । प्रजातान्त्रिक संगठनको प्राण नै हुन् यी । इतिहास बोकेको र देशका हरेकजसो ठूला आन्दोलनमा योगदान गरेको संगठन भइकन पनि नेविसंघ कहिले पार्टी नेतृत्व त कहिले अन्य स्वार्थ समूहको सिकार भएको छ । ९ बर्षपछि हुन लागेको यस महाधिवेसनमा निर्वाचित समितिको विकल्प कुनै पनि हालतमा सोच्नु हुँदैन । हालै संशोधित विधानले १२ औं अधिवेसनबाट ३२ बर्षे उमेर हद तोक्नु स्वागतयोग्य कदम हो जसलाई मात्रै कार्यान्वयन गर्न सकिएमा नेविसंघले बलियो जगमा जीवन्तता पाउनेछ । एकै व्यक्तिले बहुपद लिन पाएन र पदाधिकारीमा आउनुपूर्व केही न्यूनोतम आधार तोकिंदा त्यसले कुशल नेतृत्व पाउनेछ ।

स्वायत्त संगठनको मार्ग
पार्टी नेतृत्वले आफ्नो ‘यसम्यान’ मात्र भातृसंगठनमा खोज्दा उसका प्रजातान्त्रिक अभ्यास र चक्र विथोलिएका हुन् । तर कांग्रेसको आदर्श, मूल्य र मान्यता अलोचनात्मक बहसले मात्र जीवन्त बनाउन सक्छ । पार्टी भित्रकै रचनात्मक प्रतिपक्ष बन्न सकिएमा मात्र त्यसले संगठनको वृत्तिविकास मात्र गर्दै पार्टीलाई बलियो जगमा उभ्याउँछ । नेतृत्वले कसैप्रति शुभेच्छा राख्छ सक्छ तर स्वयत्त संगठनको मर्ममा असर पर्नेगरी हस्तक्षेप गर्नु हुँदैन ।

रचनात्मक आन्दोलन
सडक आन्दोलन र ढुंगामुडा गर्नुपर्ने एउटा परिस्थिति थियो जसमा नेविसंघका पनि थुप्रै विद्यार्थी आफ्नो जीवनसम्मको त्याग र बलिदान दिएका छन् । अहिले राजनीतिक कोर्स धेरै अगाडि बढेको छ । कुनै पनि बहानामा नेविसंघबाट बन्द, हडताल र चक्काजाम नहुने प्रतिबद्धता आवश्यक छ । शान्तिपूर्ण आन्दोलनका थुप्रै अभ्यास, सोसल मिडियाका माध्यम, डिजिटल पेटिसनजस्ता विकल्पमा जान सकिन्छ ।

विभाग गठन
१ सय ५१ सदस्यीय केन्द्रिय समितिको संगठन सबैलाई अर्थपूर्ण भूमिका दिन आवश्यक छ । जब शैक्षिक मुद्दा, प्रजातान्त्रिक परिपाटी र पार्टीका नीति तथा कार्यक्रमलाई सघाउन विभिन्न विभागहरु गठन गरिन्छन्, विद्यार्थी राजनीति नै चलायमान हुन पुग्छ । गैरराजनीतिक व्यक्ति र स्वार्थ समूहको प्रवेश भइरहेको भन्ने आलोचनालाई समेत धेरै हदसम्म चिर्न सक्छ ।

प्रदेश ढाँचाका सञ्जाल
यसै महाधिवेसनबाट प्रदेशगत उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रिय सदस्यहरुको व्यावस्था गरिएको छ । जसको अर्थ राजनीतिक रुपमा आउने संरचनामा पार्टीको नीतिलाई सघाउनु पनि हो । संघियतासँगै अझ सूक्ष्म ढंगबाट संगठनको प्रभाव र पार्टीको आदर्श विस्तारको अवसर पनि हो । क्षेत्रिय रुपमा निर्वाचित पदाधिकारीहरुले अब संघीय परिवेशको नेतृत्व लिनुपर्छ ।

अलग्लै विधान सम्मेलन
कसैको स्वार्थका लागि भन्दा एउटा बलियो संयन्त्रको लागि विधान संशोधन हुनुपर्छ । त्यसो गर्नका लागि अधिवेसनको मुखमा नभई चौतर्फी बहस, समीक्षा र अन्यत्रका अभ्यासको साहारा लिने छुट्टै विधान सम्मेलन गर्नुपर्छ । विधान छिटोछिटो परिवर्तन हुँदा त्यसले छाड्न सक्ने नजिरलाई समेत त्यसक्रममा नजरअन्दाज गरिनुहुन्छ ।

कसैगरी स्ववियु
विभिन्न बहानामा विश्वविद्यालयहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई पन्छाउन खोज्दा कलेजहरु शिक्षक/कर्मचारी राजनीतिका अखडा मात्र भएका छैनन् चरम लापरवाही र भ्रष्टाचारका केन्द्र समेत बनेका छन् । यी स्वार्थ समूहहरु स्ववियु खारेज नै गर्नुपर्ने मिसनसाथ छन् जसलाई निस्तेज पार्न अन्य पार्टीका संगठनसँग समेत मिलेर स्ववियुलाई ब्यूँत्याउन कुनै पनि सर्तमा सम्झौता गर्नुहुँदैन ।

अनुसन्धात्मक शैली
विभिन्न बिषय/संकायका विद्यार्थीलाई समेटेर स्वतन्त्र अध्ययन केन्द्रका रुपमा विकास गर्न नेविसंघ लाग्नुपर्छ । जसले सरोकारवालासँग प्रस्तुत हुँदा आफ्ना मागको औचित्य र धरातल पुष्टी गर्न सघाउनेछ । जर्नलहरुको प्रकाशन, बहस र अन्तरक्रियाको संस्कारलाई बढावा दिनुपर्छ ।

पार्टीमा भूमिका
महत्वपूर्ण राजनीतिक, शैक्षिक र आम चासोका बिषयमा नेविसंघले पार्टीलाई आफ्नो अध्ययन सहितको सुझाव दिनुपर्छ । आधिकारिक र पारदर्शी ढंगले त्यस्तो अभ्यास विकास गर्नसकेमा त्यसले व्यक्तिवादी भन्दा संयन्त्रगत शैली विकासमा सघाउनेछ । पार्टीसँग सम्पर्क र समन्वयको समेत आधिकारीक संयन्त्र नै बनाउनुपर्छ नकि पहिलेझैं अध्यक्ष मात्रैले आफूखुसी गर्ने ।

अन्तर्राष्ट्रिय अनुभवको उपयोग
थुप्रै नेपाली विद्यार्थीहरुको पहुँच अहिले विश्वका राम्रा विश्वविद्यालयसम्म छ । उनीहरुको अनुभव, ज्ञान संगठन र कालान्तरमा देशकै लागि उपयोगी हुनसक्छ । उनीहरुको पहिचान र योगदानको लागि वातावरण तयार पार्नसक्नुपर्छ । भर्चुअल प्लेटफर्ममै सही सञ्जाल विकास गर्ने र उनीहरुको अनुभव देशका लागि उपयोगि हुनेतर्फ ध्यान दिनु जरुरी छ ।

डिजिटल नेविसंघ
सजिलोगरी भन्दा नेविसंघले आफ्नो वेवसाइटलाई अन्तरक्रियात्मक र गतिविधि पारदर्शी देखिने खालको बनाउनुपर्छ । सोसल मिडिया प्लेटफर्मलाई उपयोग गर्दै आफ्ना लागि सुझाव लिने र धारणा सावर्जनिक गर्ने नयाँ तरिका विकास गर्न ढिलो भइसकेको छ । विद्यार्थी भनेका नविन पुस्ता हुन् जसको शैली नविन र प्रभावशाली हुनुपर्छ ।

लेखक नेविसंघ नेता हुन् ।

Top