सम्झनामा सूर्यकुमार

मुक्तिबाबु रेग्मी, काठमाडौ २८ वैशाख-वैशाख १६ गते विहीबार राती पौने दश बज्दै थियो । सहकर्मी रविन्द्र सुवेदीको फोन आयो । पहिलो पटक बुझिएन । किन यति राती रविन्द्रको फोन आयो भनेर मैले रिप्लाई गरे । जवाफ आयो सूर्य सरको अवस्था नाजुक छ, म न्यू हस्पिटल माइतीघर जाँदै छु । सामूदायिक प्रहरीनेर पर्खन्छु । भनेपछि सुत्नलाई ठिक्क परेको म हतार हतार कपडा लगाएर सामूदायिक प्रहरीनेर पुगे । त्यहाँ पर्खिरहेका रविन्द्रलाई भेटेपछि दुवै जना आ आफ्नो बाइकमा न्यूरो हस्पिटल पुग्यौँ । त्यहाँ सूर्यकुमारलाई भेट्नेको भीड लागि सकेको थियो । माथि जाँदा रोशन पुरी र दिपन्द्र कुवँरलाई सोधे के भयो अवस्था कस्तो छ उहाँले भन्नुभयो सूर्य जीलाई बचाउन सकिएन । त्यसपछि मेरा आँसु थामिएनन् । र म कुनै शव्द पनि बोल्न सकेन । भाउजु (सूर्यदाईको श्रीमती) भुँइमा बेहोस हुनुहुँदो रहिछ केहीबेर बसेपछि म तल झरे त्यतिबेला सम्म न्यूरो हस्पिटलमा पत्रकार, नेता, कलाकारको भीड लागिसकेको थियो । सूर्यकुमार क्षेत्रीलाई विदा गरेपछि मेरा केही घटनाहरु वरिपरी घुमिरहेका छन् ।

सूर्यकुमार क्षेत्रीसँग मेरो पहिलो भेट नेपावाणी नेटवर्कमा आवद्ध भएपछि भएको हो । म आउँदा उहाँ नेपालवाणी नेटवर्कको समाचार संयोजक हुनुहुन्थ्यो । म आईसकेपछि हामीले नेपालवाणी नेटवर्कको अडियो प्रशारण सुरु गरेका थियौँ । त्यतिबेला म र रञ्जना जी ले सँगै स्टुडियोमा समाचार पढ्दा उहाँले पत्रिका कटिङ गरेर दिनुहुन्थ्यो भने मुख्य समाचार फाइनल गर्न सिकाउनुहुन्थ्यो ।
उहाँसँग प्राविधिक पक्षको पनि निकै ज्ञान थियो । उहाँले नेपालवाणी नेटवर्कको कन्ट्रोलरुम (अनामनगर)मा गीत छनौट गरेर दिनभरी नेटवर्कमा कस्ता गीतहरु पठाउने भन्ने पनि तय गर्नुभएको थियो । उहाँ खरो स्वभावको, जे आफूले डिसिजन गरेपछि कुनैपनि हालतमा पछि नहट्ने मान्छेको रुपमा मैले चिनेको हुँ । हामीले समाचार जिल्लाका जिल्लाका रेडियोहरुमा पठाउने क्रममा उहाँले समाचार सम्पादन तथा लेखन कलापनि सिकाउनुभयो ।

दशैको समय थियो, घर जान साथीहरु विदाको चाँजो पाँजो मिलाउँदै हुनुहुन्थ्यो, नेटवर्क खुलेको पहिलो बर्ष जाने की नजाने भन्नेमा म र सूर्य जी दुवै दोधारमा थियौँ । तर पछि स्टेशन म्यानेजर प्रदिप घिमिरे सरसँग सल्लाह गरेर घर पुग्यौँ । त्यतिबेला काठमाडौमा रविन्द्र सुवेदी र केशब बोहोरालाई जिम्मा दिएका थियौँ । साथीहरु बसेपछि हामीले सहजै घर जान पाएका थियौँ ।
त्यतिबेला प्रविधीमा गणेश पाण्डे हुनुहुन्थ्यो, प्राविधक कक्षमा पुगेर हामीले दशै बिशेष गितहरु छनौट गर्दा सुनको जलप पापी साहुले दिन्न तलब भन्ने गीत खुबै प्रशारण भएको थियो ।
तिहारमा सूर्य जी लगाएत हामीहरु जो दशैमा घर गएका थिएनौ ती साथीहरु बस्ने भयौँ । दशैमा रविन्द्र जीले काठमाडौमा साह्रै गाह्रो हुँदो रहिछ भनेर प्रतिक्रिया जनाउनुभएको थियो । तर हामी तिहारमा त्यस्तो अप्ठेरो महसुस गर्न परेन । पक्कैपनि दशैभन्दा तिहारमा काठमाडौको चहल पहल बढी हुन्छ ।

तिहारको समयमा हामी दाई शिब लम्साले त्यतिबेला इमेज टेलिभिजनमा काम गर्नुहुन्थ्यो, मेरो चिनजान थिएन । उहाँसँग सूर्य जी कै माध्यमबाट चिनजान भयो । बागबजारमा रहेको प्रेम सेकुवामा भेट भएपछि खाजा खाएर नेपालवाणी नेटवर्क फर्किएका थियौँ । रातीको समयमा सूर्य जी पनि एक्लै म पनि एक्लै दुवै जना खाना पकाउन भने पछि अल्छि मान्ने । कति दिन भोकै सुतियो भने कति दिन होटेलमा गएर पाए खाना र नपाए खाजा खाएर सुतियो भने, रातीमा ट्याक्सी लिएर शिब लम्साल दाईलाई खाना पकाउन लगाएर पनि गएर खाइयो ।

सूर्यकुमार क्षत्री सधैभरी नयाँ नयाँ प्रयोग गर्न खोज्ने मान्छे । उहाँले जहिले पनि भन्नुहुन्थ्यो, जो अड्यो त्यो सड्यो भनेर । उहाँले नेपालवाणी नेटवर्क छाड्ने तयारी गर्नुभएछ । पहिला भन्नुभएन । अन्तिममा आएर मैले नेपालवाणी छोड्न लागे उज्यालो नाइनटी नेटवर्कमा जान्छु भनेर । हामीले पनि भन्यौ, यतै बसेको भए नेपालवाणी नेटवर्कलाई पनि राम्रो बनाउन सकिन्छ । तर जानेनै सोँच हो भने त्यहाँ गएर राम्रो गर्नुहोला ।
सूर्यकुमार उज्यालो नाइनटीमा आवद्ध भएपछिपनि उहाँको र मेरो सँगत सँधै रह्यो । उहाँले एउटा रिपोर्ट बनाउँदा रेकर्डरले समस्या भएछ । राष्ट्रिय गान जस्ले पनि मोबाइलमा रिङ टोन बनाउने विषयमा रिपोर्ट बनाउँदा मैले रेकर्डर उपलव्ध गराएको थियो । त्यो रिपोर्टमा बाइट उहाँले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलासँग अनामनगरमा लिनुभयो ।
उहाँ कलाकार पनि हो । उहाँले नेपाली लोक संगित क्षेत्रमा धेरै योगदान दिनुभएको छ । उहाँका धेरै लोक संगितहरु अझैपनि नेपाली जनजिव्रोमा लोकप्रिए पनि छन् । कला क्षेत्रमा विशेष दःखल राख्ने भएकाले उहाँले तयार पारेको रंगदर्पण एकदमै लोकप्रिय थियो । पछि उहाँले रेडियोको जागिर छोडेपछि कला सम्बन्धी अनलाईन सञ्चालन गर्नुभयो । अहिले पनि उक्त अनलाईन कलाकारका माझ एकदमै लोकप्रिय छ ।

सूर्य र मेरो सम्बन्ध झनै गाडा हुँदै गयो । उनी उज्यालोमा काम गर्ने म नेपालवाणीमा । यस्तैमा मैले विहे गर्ने बेला आयो । केटी माग्न जानु पर्ने । कोही भएनन् काठमाडौमा । त्यसपछि सूर्य जीलाई भने दाई पेप्सीकोला जानुपर्यो । उताबाट जवाफ आयो किन यतिबेला पेप्सीकोला, मैले सवै कुरा बताएपछि उनी जान तयार भए । र हामी राती साढे ८ बजे पेप्सी कोला गयौँ । मेरी तत्कालिन(गर्लफ्रेन्ड हाल श्रीमतीका) दाईहरुसँग कुरा गर्नुपर्ने । मलाई लाज लागेर वोल्नै नसक्ने भए । सवै कुरा सूर्य दाईलेनै गर्नुभयो । उहाँले हाम्रो विहेकालागि कुरा अघि बढाउनुभयो र सवै कुरामा उहाँको सधै साथ र सहयोग पनि रह्यो । राती साढे १० बजे पेप्सीकोलाबाट कुरा गरेर हामी फर्कियौँ । यो यस्तै असार साउनको कुरा हुन पर्छ । त्यसपछि मंसिर १८ मा मैले विहे पनि गरे ।

विहे गर्दा मसँग मेरा घर परिवार खुसी भएनन् । तर मैले मानिन म अहिले जस्लाई प्रेम गर्छु उसैलाई विहे गर्नुपर्छ भनेर लागे । यसैकालागि सूर्यदाई र दिपेन्द्र कुँवर दाईले पनि मेरो विहेमा आर्थिक सहयोग गर्नुभयो । सूर्यजीलाई मैले केही समय पछि पैसा फिर्ता गरे । तर हरेक पटक भन्नुहुन्थ्यो, तिमीलाई अप्ठेरो छ भने मलाई पछि दिँदा पनि हुन्छ ।

विहे गरेपछि दुई तीन पटक श्रीमति सहित सूर्य दाईको कोठामा गयौँ । सँधै भन्नुहुन्थ्यो, मानिसको जीवन कर्ममा विताउनु पर्छ, त्यसैले सानो तिनो दुःखले आत्तिनु पर्दैन । त्यो कुरा अहिले पनि मेरो मनमा घरि घरि आइरहन्छ ।
सूर्य बिरामी हुनुभन्दा पहिला मैले दाङ जाने प्रस्ताव गरेको थिए । दाङ विजौरीमा मेरो कुल पूजा थियो । (कुनै ठाउँमा झोला हालेर मासु खाइयो भने कुलानी पूजा जस्तै भयो भन्नुहुन्थ्यो) तर उहाँले मलाई हल्का टाउको दुखि रहेको छ म अलि सन्चौ छैन त्यसैले जाँदैन भनेर जवाफ दिनुभयो । म दाङ गए र केही समय पछि फर्किदा उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसपछि अस्पताल पुगेर भेटियो । अस्पतालको सैयामा बसेर पनि उहाँले निकै आत्मबलका साथ रोगलाई जितेको बताउनुहुन्थयो ।
न्यूरो हस्पिटलमै बसेका बेला उहाँलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भेट्न पुग्नुभएको थियो । उहाँले कत्रो रहिछ त बाबु तिम्रो ट्युमर भनेर सोध्दा सूर्य दाईले जवाफ दिनुभएको थियो, बुवा तपाईको गालामा भएको मासुको डल्लो जत्रो रहिछ अपरेशन भयो अब म पुरै ठिक हुन्छु ।
तर उहाँले त्यति भन्दापनि सवैलाई हौसला हुन्थ्यो अब सूर्य जी पुरानै अवस्थामा फर्कनुहुन्छ । तर दैवको लिला त्यसलाई टार्न उहाँ असफल हुनुभयो । काठमाडौको न्यूरो अस्पतालमा अप्रेशन गर्नुभएका सुर्य दाइ भारतको नयाँ दिल्लीमा अप्रेशन गरेको भाग सेक्न ३ महिना बस्नुभयो । तीन महिना बसेर आएपछि उहाँमा पुरानै अवस्थामा देखिनुभयो ।
केही समय उहाँ साहै्र मोटाउनुभएको थियो । मुक्ति म त मोटाए । त्यो भन्दापनि उहाँको मुहार कता कता खुसी देखिन्थ्यो । समय वित्दै गयो, सूर्य दाईलाई अब ठिक होला भनेर । एक दिन घरमा श्रीमतिले भनिन सूर्य दाई त फेरि विरामी हुनुभएको छ रे । म झल्यास्स भए भेट नभएको धेरै भाको छ, म पनि जान पाको छैन, गएर भेट्नुपर्ला, यत्तिकैमा समय वित्दै गयो, म पनि कता कता व्यस्त भएकोले तत्कालै भेट गर्न पाइन ।
तर वैशाख १४ गते मंगलबार म विहान साढे ८ बजे तिर सूर्य दाईको कोठामा गए । कोठामा जाँदा मलाई कता कता नरमाईलो लाग्यो, सधै कोठाको ढोका ढकउदा ए मुक्ति आयो, लौ बस भन्ने सूर्य दाईले मलाई चिन्नुभएन । उहाँलाईइ दाई शंकरले टाउको अडाउनुभएको थियो भने सरिता भाउजुले विस्कुट भिजाएर खुवाउँदै हुनुुहुन्थ्यो । केही बेर बसेपछि मलाई त्यहाँ बसिरहन मन लागेन, भाउजुले चिया खान आग्रह गर्दा पनि भाउजु म भर्खरै खाएर आएको भन्दै विदा भए ।
तर विहीबार राती रविन्द्रको फोन आएपछि हस्पिटल जाँदा उहाँको देहबसान भएको खबरले मर्माहत बनायो । सूर्य दाईको पार्थिब शरिरलाई टिचिङमा राख्नुपर्ने भयो । उहाँका पार्थिब शरिर टिचिङमा राखेर राती साढे १ बजे म र खिला कार्की फेरि न्यूरो हस्पिटलमा फर्कियौँ । त्यहाँ केहीबेर बसेर हामी कोठामा पुगेर निदाउन खोज्दा उनै सूर्य दाईको सम्झनाले निन्द्रपनि लागेन । भोली पल्ट उहाँको पार्थिब शरिरलाई कमलादीस्थित प्रज्ञा भवनमा अन्तिम श्रद्धाञ्जलीकालागि राखियो । त्यहाँ सरकारका उपप्रधानमन्त्री, मन्त्री राजनीतिक दलका शीर्ष नेताहरु, केन्द्रिय सदस्य, कलाकार, पत्रकार अधिकांश पुगे । उहाँको पार्थिब शरिरलाई गाडीमा राखेर गृह जिल्ला मिर्मि पुर्याएर अन्त्यष्टि गरियो । आज उनै सूर्य कुमारको १३ औँ दिनको पूण्य तिथिको काम हुँदै छ । उनलाई मेरो र नेपालवाणी नेटवर्कको तर्फवाट हार्दिक श्रद्धाञ्जली ।।

Top