कि देशभरीका यूवालाई बाँच्न देउ, नत्र १२ जनालाई मर्न देउ !

चन्द्रबहादुर थापा, काठमाण्डौ बैशाख २३ – घाँटीमा डिग्री हाँसिल गरेको प्रमाणपत्र, हातमा स्लाईन, भोको पेट, बिस्तारामा परेको ९ दिन भयो । चण्डेनी मण्डन ३ काभ्रेका महेश नेपालल विरामी परेर थला परेका भने होईनन् ।

अँग्रेजी साहित्यमा डिग्री गरेर कानुनमा स्नातक पढ्दै गरेका उनलाई सामान्य ज्यान पाल्ने जागिर पाउन कुनै समस्या थिएन । तर आफूँ संगै पढेका धेरै साथी दुवई कतार गएको चिन्ताले पिरोलेपछि उनी डिग्रीको प्रमाणपत्र थन्क्याएर विदेशमा भाँडा माझ्न जाने यूवाको दिर्घकालिन समस्या समाधानको उपाय खोजे । अनि मर्न तयार भएर काठमाण्डौको खुला मञ्चमा आमरण अनसन बसे ।

स्वयम्भुमा आफ्नै कम्प्यूटर व्यवसाय सञ्चालन गरेका दोलखाका दावा शेर्पालाई त आफ्नो परीवार पाल्न कुने समस्या नै थिएन । तर देशका धेरै यूवा पढेर पनि रोजगारी नपाएको चिन्ताले उनलाई पिरोल्यो ।

आफू संगै पढेका धेरै यूवा विदेश गएको चिन्ताले पिरोलेपछि कमसेकम पढे अनुसारको रोजगारीको ग्यारेण्टी त हुनुपर्‍यो  भनेर उनी अहिले खुल्लामञ्चमा आमरण अनसनमा छन् ।उनको जस्तै देशभरीका यूवाहरुको बेरोजगार भएर भौतारीनुपर्ने समस्याप्रति चिन्ता मानेर अनसन बस्ने १२ जना छन् ।

योग्यता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनपर्ने, वेराजगार भत्ताको व्यवस्था गर्नपर्ने लगायतका माग राखेर बैशाख १५ गतेदेखि अनसन बसेका उनीहरुलाई मर्न भने चिन्ता छैन । ‘देशबाट दैनिक १७ सय बढी यूवा विदेसिन्छन्, त्यसमध्ये दिनमा २ जना भन्दा बढी त बाकसमा प्याक भएर फर्कन्छन्’ अभियानका निरज कुमार पुन भन्छन् ‘हाम्रो माग कि त त्यसरी विदेश गएर मर्नेहरुलाई बाँच्न देउ, होईन भने विदेशमा गएर मर्नुभन्दा हामीलाई यही खुल्लामञ्चमा मर्न देउ भन्ने हो ।’

आमरण अनसनमा बस्नेहरु सबै शिक्षित यूवाहरु हुन् । बिएल पढेका गुल्मीका पूर्व सभाषद चन्द्र बहादुर थापा, स्नातकोत्तर दोश्रो सेमेष्टरका अनुषा राई, जिविता आचार्य, लक्ष्मी स्याङताङ तामाङ, स्नातकोत्तर प्रथम बर्षका ज्ञानदेव विष्ट, कम्प्यूटर हार्डवेयर ईन्जिनियरीङ्गका दावा शेर्पा, स्नातकोत्तर थेसिस लेख्दै गरेका अजित झा, निरज पुन र महेश नेपाल, बिबीए पढ्दै गरेका भरत लामिछाने, बिबिएस पास गरेका रियाज पौडेल र उच्च मावि सकाएकी मञ्जु गौतम यसरी देशका सबै यूवाका लागि मर्न तयार छन् ।

शैक्षिक योग्यता, सिप र कला अनुसारको रोजगारीको ग्यारेण्टी स्वदेशमै हुनुपर्ने यूवाहरुको पहिलो माग छ । रोजगार दिन नसके राज्यले प्रदान गरेको शैक्षिक योग्यता, सिप र कलाको प्रमाणपत्र धितो राखेर सहुलियत दरमा ऋण प्रदान गरी स्वरोजगार हुने वातावरण बनाउने, रोजगारी वा स्वरोजगारी दुवै दिन नसकेका यूवालाई सामाजिक सुरक्षा भत्ता, राष्ट्रिय स्तरका खेलाडी र कलाकारको विशेष व्यवस्था हुनुपर्ने, बन्द, हड्ताल गर्न नपाउने कानुन बनाएर बन्द उद्योग खोल्नुपर्ने, स्वदेशी बस्तुको प्रयोगको व्यवस्था लगायतका उनीहरुका माग छन् ।

देशको बढ्दो बेरोजगारी समस्या समाधानका लागि यूवाहरुले दिएका विकल्पका साथ गरीएको आमरण अनसन ठीक भएको विशिष्ट व्यक्तिहरुको पनि ठहर छ । नेपाली यूवाहरु आफ्ना न्यूनतम अनिवार्य आवस्यकताहरु पूरा गर्नका लागि पसलमा राखेको बस्तु जस्तै विदेमा विक्री भईरहेकोले यो समस्या तत्काल सम्बोधन गर्नुपर्ने पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल बताउँछन् । ‘नेपालमा एकछाक खान, एक झुप्रो बस्न र शरीर ढाक्नका लागि नेपाली यूवाहरु पसलमा राखेको चिज जस्तै विक्री भईराखेको अवस्था छ’ उनले भने ‘यो सम्पूर्ण नेपालीहरुको अनिवार्य आवस्यकता हो, राज्यसत्ता हातमा लिएर बसेका अरुले यी मागहरुलाई पूरा गरीदिउन निवेदन गर्न चाहन्छु । ’

यूवाहरुले अनसनमा उठाएको विषय कुनै भाषा, धर्म, जाती वा राजनीति संग सम्बन्धित भएको नभई सम्पूर्ण नेपालीहरुको साझा समस्या भएकोले समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने धेरैको माग छ । बेरोजगारी समस्या नेपालको एक नम्बर समस्या भएकोले राज्यले पहिलो दायीत्व भएको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई छ ।

उनले संविधानको मौलिक हकका रुपमा रहेको रोजगारीका लागि यूवाहरु आमरण अनसन बस्नुपर्ने अवस्था आउनु दुःखको कुरा भएको बताए । ‘हाम्रा देशका यूवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने जुन नैसर्गिक अधिकार हो र अहिलेको यो संविधानले पनि यसलाई मौलिक हकको रुपमा स्थापीत गरीसकोके छ’ उनले भने ‘त्यसलाई कार्यान्वयन गराउनका लागि यूवाहरुले अनसन गर्नुभएको छ, त्यो ऐतिहासिक महत्वको छ, राज्यले पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्छ ।’

नेपाली समाजकै मुख्य समस्या समाधानका लागि सरकारका बसेकाहरुको आँखा खोलनका लागि अनसन महत्वपूर्ण रहेको सभाषदहरुको भनाई छ । यूवाहरुले देशबाट भागेर पलायन भएर भागेर समस्या समाधान नहुने भएकोले यसको अन्त्यका लागि हामीले देशभित्रै रहेर राज्य सत्तालाई दवाव दिन जरुरी रहेको उनीहरुको भनाई छ । सभाषदहरु जनकराज जोसी, रञ्जित कर्ण, उदयशमसेर राणा लगायतले पनि ऐक्यवद्धता जनाए ।

आन्दोलनका विभीन्न समयमा पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी, पूर्व मुख्यसचिव लिलामणी पौडेल, पूर्व प्रधान सेनापति रुक्मांगत कटवाल, अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत लक्की शेर्पा, नेपाल तरुण दलका अध्यक्ष उदयशमसेर राणा, नेविसंघ अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियूकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल लगायतले अनसनस्थलमै पुगेर ऐक्यवद्धता जनाए । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, नेपाल बार एसोसिएसनका अध्यक्ष शेर बहादुर केसी, पूर्व महान्यायधिवक्ता मुक्ति प्रधान, नयाँ शक्तिका देवेन्द्र पौडेल, एनेकपा माओवादीका नारायण दाहाल, खिमलाल देवकोटा, रेणु दाहाल, हिमालयन शेर्पा कल्चरका अध्यक्ष लाक्पा शेर्पा, ब्राम्हण समाज संघ नेपालका महासचिव महेन्द्र प्रकास सिवाकोटी लगायत अनसन स्थल पुगेर ऐक्यवद्धता जनाउँदै राज्यलाई घचघच्याउने माग कुरा गर्दा अनसनरत यूवासहित धेरै बेरोजगार यूवा उत्साहित भए । तर राज्यका कुनै निकायले अहिलेसम्म कुनै प्रतिकृया नजनाउँदा भने निराश छन् । ‘विशिष्ट व्यक्ति र नेताहरु आएँदा उत्साह त भएको थियो,’ अभियन्ता ज्ञानेन्द्र अधिकारी भन्छन् ‘तर खै कतै कुरा उठेन ।’

आफ्ना सन्तान विदेशमा पुगेर पाएको दुःख सुनको धेरै बृद्धबृद्धा पनि अनसन स्थलमा ऐक्यबद्धता जनाउन पुगे र यूवालाई केही राहत हुने आश व्यक्त गरे । चितवन घर भई जडिबुटी बस्ने राम प्रसाद शर्मा आफ्नो छोरा कतारबाट फोन गरेर रोएको सुन्दा बिरक्त लागेको बताउँदै टिभिमा यूवाले नेपालमै रोजगारीको माग गरेको सुन्दा खुसी लागेको बताए । ‘विदेशबाट फोन गरेर छोरो रुँदा बाँच्न मन लाग्दैन तर के गर्नु सबैको बाध्यता यस्तै छ’ अनसनस्थल पुगेका उनले भने ‘टिभिमा यूवाले यो आन्दोलन गरेको थाहा पाउँदा खुसी लागेर आएको हुँ ।’
यूवाहरुले अनसन बसेको बिहीबार नौँ दिन पुगेको छ । उनीहरुको स्वास्थ्य अवस्था पनि विग्रँदो छ । अनसनमा बसेका यूवाहरु बेहोस भई ढल्न थालेपछि अस्पत्ताल भर्ना गरीएको छ । दिनहुँजसो बेहोस भई ढल्ने क्रम बढेको आन्दोरनरत संस्था रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानका उपत्यका संयोजक दिपक विसीले बताए । ‘साथीहरुलाई न्युन रक्तचाप, ग्याष्टिक, लगायतको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन्’ उनले भने ‘दिनहुँ २-३ जनालाई अस्पत्ताल भर्ना गर्ने भईरहेको छ ।’ उनका अनुसार आठौँ दिनका दिन जिविता आचार्य र अनुप लामिछाने, मञ्जु गौतम र अनुषा राईको विर अस्पत्तालमा उपचार भईरहेको छ । बाँकी ९ जनाको स्वास्थ्यपनि एकदम कमजोर भएको कारण उनीहरुलाई पनि स्लाईन चढाएर राखिएको छ । बिर अस्पत्ताल, काठमाण्डौ मोडल अस्पत्तला, अल्का अस्पत्ताल र नागरीक अस्पत्तालका स्वास्थ्यकर्मीको टोली अनसन स्थल खुलामञ्चमा पुगी उनीहरुको नियमित स्वास्थ्य परीक्षण गरीरहेको छ ।

सातदिनसम्म विभीन्न राजनैतिक दलका नेताहरुले उनीहरुको अनसनप्रति ऐक्यवद्धता जनाएपनि राज्यको तर्फबाट आधिकारीक व्यक्ति आएर अनसनप्रति कुनै सुनुवाई नगरेको अभियन्ता ज्ञानेन्द्र अधिकारीले बताए । अहिलेसम्मपनि सत्तापक्षले गम्भिर रुपमा नलिकोमा चिन्ता व्यक्त गर्दै पूर्व प्रधानमन्धत्री डा भट्टराईले आमरण अनसन भनेको संघर्षको अन्तिम रुप भएकोले यूवाहरुको जीवनसंग खेलबाड नगर्न सरकारसंग माग गरे ।

‘त्यसैले म आग्रह गर्न चाहान्छु उहाँहरुको स्वास्थ्यमा कुनै प्रतिकुल असर पर्नुभन्दा पहिले नै आजै नै सार्थक बार्ता शुरु गरेर यसको समाधान खोजोस’ उनले भने ‘उहाँहरुको ज्यानमा कुनै पनि प्रकारले खतरा उत्पन्न भयो भनेदेखि त्यो देशको निम्ति एउटा ठूलो कलंक हुने छ ।’

Top